भक्तिविलास पोखरेल ।
गाईघाट, ३२असार । उदयपुरको त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएकोछ । वडा नं १० स्थित वासबारीमा अपाङ्ग तथा वालवालिका मैत्री नगरपालिकाको नयाँ प्रशासनीक भवनको निर्माण गर्न जिम्मा लिएको कम्पनीले पूर्व निर्धारित समयसिमा भित्रै निर्माण सम्पन्न गरेर बुधवार हस्तान्तरण गरेको हो ।
कुल १२ करोड २६ लाख ३९ हजार रुपियाँको लागतमा ज्ञानज्योती बिल्डर्स प्रा.ली काभ्रेले २०८२ साल असार १३ गते भवन सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेकोमा आफ्नो समयावधिमा निर्माणको सम्पूर्ण काम सम्पन्न गरि कम्पनिले नवनिर्मित भवन त्रियुगा नगरपालिकालाई एक कार्यक्रमबीच आज बुधवार जिम्मा लगाएकोछ ।
सम्झौता रकम भन्दा कम रकममा भवन निर्माणको काम सम्पन्न गरेर निर्माण कम्पनीले कामको मूल्यांकन आधारमा १२ करोड १३ लाख ७० हजार अर्थात सम्झौतमा उल्लेख गरिुएको भन्दा १२ लाख ६९ हजार रुपियाँ कम भुक्तानी लिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार वस्नेतले बताउनुभयो ।
भवन सकिएको छ तर कम्पाउण्ड ,फर्निचर,भवन बाहिरको खाली जग्गा सम्याउन त्यसलाई सझाउन बाँकी रहेकोले त्यो काम पनि सकाएर केहि महिना पछि नयाँ भवनमा कार्यालय सारिने नगर प्रमुख बस्नेतले बताउनुभयो । तिन तला र ४६ कोठा रहेको नव निर्मित प्रशासकीय भवन फरक क्षमतामैत्री, वालमैत्री, अपाङमैत्री विद्युतीय भ¥याङ (लिफ्ट) र भूमिगत पार्किङको सुबिधा सहितको भएकोे नगरपालिकाका इन्जिनियर निर्मल चौधरीले बताउनुभयो ।
नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र सभाहल लगायत नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा अट्ने गरीक नयाँ भवन बनेको हुँदा नवनिर्मित भवनलाई संचालनमा ल्याए पछि पालिकाले गर्ने सेवा प्रवाहमा चुस्तता आउने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाले बताउनुभयो ।